विश्वपरिक्रमा डेस्क
३० अगस्त, वाशिंटन डिसी
नेपाली युवा साहित्यकारहरुमा हरेक वर्ष निकै चासोका साथ हेरिने “युवावर्ष मोति पुरस्कार” २०७७ र २०७८ को एकसाथ घोषणा भएको छ ।
विसं २०७७ का लागि महेश पौड्याल तथा मीनकुमार नवोदितलाई तथा विसं २०७८ का लागि प्रकाश पौडेल माइला तथा हेम प्रभासलाई प्रदान गर्ने निर्णय भएको छ ।
यसपालीको पुरस्कारको घोषणामा यौटा विशेषता थपिएको छ । पहिलोपल्ट नेपालबाहिर वसेर नेपाली साहित्यको लेखन तथा प्रवर्धन गर्ने प्रतिभा प्रकाश पौडेल माईलालाई पुरस्कृत गरिएको छ, यो युवा वर्ष मोती पुरस्कारको ईतिहासमा पहिलो घटना हो । यसले मोती पुरस्कारको क्षितिज फराकिलो भएको छ ।
पुरस्कार ४० उमेर नकटेका युवा साहित्यकारलाई दिइन्छ । स्थापना कालमा यो पुरस्कारको राशी रु १० हजार रहेकोमा हाल ५० हजार पुगेको छ । यो पुरस्कार स्थापनाको पहिलो वर्ष विसं २०४२ सालमा कवि दैवज्ञराज न्यौपानेले प्राप्त गरेका थिए । विसं २०४५ सालमा पहिलोपल्ट अशेष मल्ल र काजि रोशनलाई संयुक्त रुपमा दिइएको थियो । तर पछि यो पुरस्कार अघोषित रुपमा सधैंजसो संयुक्त रुपमा प्रदान गरिंदै आएको छ ।
विसं २०४८ सालमा नरेन्द्रराज प्रसाईं र किशोर पहाडीलाई संयुक्त रुपमा दिइएकोमा किशोर पहाडीले अस्वीकार गरेका थिए भने विसं २०६३ सालमा मोमिला र रामप्रसाद ज्ञवालीलाई संयुक्त रुपमा दिइएकोमा रामप्रसाद ज्ञवालीले अस्वीकार गरेका थिए ।
स्मरणीय छ, सन् १९८५ मा संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय युवा वर्ष मनाउने घोषणा गरे अनुरुप नेपालमा पनि अन्तरराष्ट्रिय युवा वर्ष आयोजक समिति बनेको थियो, जसको अध्यक्ष कमल थापा थिए भने संरक्षक तत्कालिन राजा वीरेन्द्र । अन्तरराष्ट्रिय युवा वर्ष समाप्त भए पनि त्यसको सम्झना चीरकालसम्म रहोस् भनी समितिक अध्यक्ष कमल थापाको सुझबुझमा राष्ट्रिय योवा सेवा कोषको स्थापना भयो र सो कोषले साहित्य, खेलकूद, उद्यमि युवा महिला लगायतलाई पुरस्कृत गरिने परम्पराको थालनी भयो । मोती पुरस्कारको परिकल्पनाकार कमल थापा थिए ।
युवा सेवा कोष हाल युवा, खेलकूद तथा संस्कृति मन्त्रालय अन्तरगत रहेको छ ।