विश्वपरिक्रमा डेस्क
२९ अगस्त, वाशिंटन डिसी
२८ अगस्त शनिबारको दिन सिलिगुडीको मेथीबारीस्थित क्याफे दि ट्वीन्समा एक समारोहबिच प्रसिद्ध गीतकार डा. जस योञ्जन ‘प्यासी’ महोदयको गीत सङ्ग्रह “फेरि फेरि तिमीले मलाई कहीँ कतै नभेट्नु’….” को लोकार्पण सम्पन्न भयो । कृतिकार प्यासी, गायक कर्म मोक्तान, सङ्गीतकार राजु सुन्दास अनि प्रकाशक सञ्जीव छेत्रीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरियो।
कृति लोकापर्पणको घोषणा प्रसिद्ध साहित्यकार कृष्ण प्रधानले गरेका थिए । त्यस अवसरमा गायक कर्म मोक्तान र सङ्गीतकार राजु सुन्दासलाई डा. प्यासी अनि परिवारजनका तर्फबाट खादामाला अनि सम्मानपत्र प्रदान गर्दै अभिनन्दन जनाइएको थियो ।
सम्मानपत्र साहित्यकार कृष्ण प्रधान र युग्मककार कालूसिंह रनपहेंलीले पठन गरेका थिए। समारोहमा पुस्तकको शीर्षक गीतलाई गाएर अघिबाटै लोकप्रिय बनाउने प्रसिद्ध गायक कर्म मोक्तानले ‘फेरि फेरि तिमीले मलाई….’ आफ्नो स्वरमा प्रस्तुत गरेर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए । त्यस अवसरमा डा. “प्यासीले कृति प्रकाशन गर्दाका अनुभवहरू साझा गरेका थिए ।
कार्यक्रमलाई उद्घोषक हनोक थापा अनि प्रकाशक सञ्जीव छेत्रीले छरितो र मुग्धकारी ढङ्गले सञ्चालन गरेका थिए।
ईसं १९४९ डिसेम्वर १४ का दिन चुङथुङ चिय कमान, शिरिषे दार्जिलिङमा जन्मेका प्यासी आजिवन प्राध्यापनमा रहे र हाल अवकाशको जीवन विताइरहेका छन् । उनका नाटक, उपन्यास, समालोचना, कविता सङ्ग्रह प्रकाशित छन् । उनले साहित्य एकेडेमी पुरस्कार पनि पाएका छन् ।
(फोटो सौजन्य: कालुसिं रनपहेलीको फेसवुकबाट)