विश्वपरिक्रमा डेस्क
१५ अगस्त वाशिंटन डिसी
अफगानिस्तानमा रहेका अमेरिकी सेनाको फिर्तीसँगै तालिवानहरुले विभिन्न शहरहरु कब्जा गर्दै कावुल प्रवेश गर्न लागेपछि अफगानी राष्ट्रपति असरफ घानीले कावुल छाडेका छन् । उनको पलायनसँगै अफगानिस्तानको स्थिति अन्यौलपूर्ण रहेको छ र अमेरिकीहरुले द्रुत गतिमा आफ्ना नागरिकहरुलाई त्यहाँबाट उध्दार गरेसँगै त्यहाँ रहेका विभिन्न मुलुकका नागरिकहरुसँगै नेपालीहरु पनि अन्यौलग्रस्त रहेका छन् ।
यसैवीच नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको विवरण संकलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा नाम भरेर दर्ता गर्न सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई आह्वानसमेत गरेको छ ।
साथै परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नयाँदिल्लीस्थित नेपाली दूतावासमा हटलाइनको पनि व्यवस्था गरेको छ ।
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरूलाई सरकारले त्यहाँ कार्यरत नेपालीहरूको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन पनि आग्रह गरेको छ ।
नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा उनको कार्यकक्ष सिंहदरबारमा बसेको अन्तरमन्त्रालयको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेको नेतृत्वमा र्थ, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड– १९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट सहसचिव वा सोसरहका सदस्य रहने गरी कार्यदल गठन गरेको छ ।
यसै वीच काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा कार्यरत नेपालीलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयहरूलाई नेपाल सरकारको तर्फवाट औपचारिक पत्राचारसमेत गरेको जनाइएको छ ।