नेपालको धादिङ्ग,मलेखुमा जन्मेकी निरु त्रिपाठी सन् २०१३ देखि अष्ट्रेलियामा वसोवास ग्दै आएकी छिन् । त्यस्तै आठ नौ कक्षामा पढ्दै गर्दा “मुना” मा कथा प्रकाशित गरेर लेखनको क्षेत्रमा आएकी निरुको पहिलो पुस्तक पेरिस्कानो सन् २०२० जनवरीमा प्रकाशित भएपछि उनी चर्चाको केन्द्रमा आइन् । प्रस्तुत छ, उनीसँग ५ प्रश्न र उनका उत्तरहरु:
१, पेरिस्कानो प्रकाशन भएको १ बर्ष नाघेको छ । एक वर्ष पूरा भएको उपलक्षमा त्यसको गीति प्रस्तुति पनि देख्न पाइयो । पेरिस्कानोको ह्यांगओभर अझै वांकी छ?
छ नि । अब अडियो बनाउने तरखरमा छु ।
२, पेरिस्कानो लेख्दाको वेलाको अझै पनि याद आउने क्षणहरू केही छन् कि?
त्यो अपुरो निद्रा सबैभन्दा बढी याद आउँछ । लेख्न खोज्दा लेख्न नआएको क्षणले पिरलेको थियो । एकदिन अफिसको म्यानेजमेन्ट मिटिङ्ग भइरहेको थियो । म मिटिङ्गको माइन्यूटिङ्ग गर्दै थिएँ । त्यही वेला म जुन कुरामा अड्केको थिएँ ती कुराहरुको समाधान दिमागमा फुर्न थाल्यो । थुनिएको बाँधको पर्खाल भत्किदाँ जसरी पहिरो जान्छ त्यसरी नै ती कुरा फुरेको थियो । यता माइन्यूटिङ्ग गर्ने कि पेरिस्कानोको कुराहरु टिप्नु वडो सकस भयो । यो क्षण म कहिल्यै बिर्सिन्न ।
३, पेरिस्कानो कति सफल भएको ठान्नुहुन्छ ?
जति हुनुपर्ने हो त्यति भएन जस्तो लाग्छ । कोरोनाको महामारीले गर्दा धेरै ठाउँमा किताव अझै पुगेको छैन । धेरैजनाले किताव माग्दा दिन सकिएको छैन । किन्छु भन्नेले पनि किन्न पाइरहेका छैनन् ।
४, पछिल्लो समय पेरिस्कानो प्रकाशनपछि कोरोना महामारीमा लेखनको क्षेत्रमा के गर्नुभयो ?
लक डाउनमा अफिसको काम झन् बढी भयो । समाजसेवामा पनि धेरै समय खर्चिएँ । तर पनि फाट्ट फुट्ट चाहीं लेखिनै रहें ।
५, पेरिस्कानोका पाठकले तपाईंवाट अर्को कृति कहिले पाउने ?
नयाँ कृति पनि उपन्यास नै हुनेछ । लेख्न पनि शुरु गरिसकेकी छु । सायद दुई तीन वर्षमा अर्को उपन्यास लिएर आउन सकुँला भन्ने लागेको छ ।
(प्रस्तुति: सुदामा)
०००