आख्यानका शिखर प्रतिभा परशु प्रधानको अभिनन्दन गरिने

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
३ अगस्त, वाशिंटन डिसी

नेपाली आख्यान क्षेत्रका मूर्धन्य हस्ताक्षर परशु प्रधानको विसं २०७८ माघ २९ गते राष्ट्रिय अभिनन्दन गरिने भएको छ । नेपाल श्रष्टा समाजको हालै वसेको वैठकले सो निर्णय गरेको हो ।
अभिनन्दनका लागि नेपाल श्रष्टा समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षतामा “परशु प्रधान राष्ट्रिय अभिनन्दन मूल समारोह समिति” गठन गरिएको छ जसमा सदस्य सचिव श्री ओम श्रेष्ठ रोदन तथा कोषाध्यक्षमा विनोद नेपाल र सदस्यहरुमा पुष्पा खनाल, नवराज अवदोषी, जानु धिताल, देविका तिमिल्सिना, डा. पुष्करराज भट्ट, नवराज पुडासैनी ज्योत्स्ना, लेखजङ्ग खत्री, रश्मि रिमाल, सुमन घिमिरे वर्षा र सुमन थापा सङ्गम रहेका छन् ।
मूल समारोह समितिको सल्लाहकार समूह पनि घोषणा गरिएको जस अनुसार माया ठकुरी, नगेन्द्रराज शर्मा, चण्डीप्रसाद श्रेष्ठ, पुष्पप्रसाद लुईंटेल तथा पवन आलोक रहेका छन् ।
परशु प्रधानको नेपाली साहित्यमा कथाकारको रुपमा विशिष्ट स्थान रहेको छ । उनले डेडसय भन्दा बढी कथा लेखेका छन् र आधा दर्जन बढी कथा सङ्ग्रह प्रकाशित छ । लेखनको शुरुमा कवितामा समेत कलम चलाउने उनी पछि आख्यानमा केन्द्रित भए । उनको एकमात्र उपन्यास “सवै विर्सिएका अनुहारहरु” काव्यात्मक शैलीको मानिन्छ । उनको “रात जो पग्लन्छ” उपन्यास आँशिक रुपमा धारावाहिक प्रकाशित भए पनि पुस्तकको रुपमा भने प्रकाशित भएन । उनको र गोविन्द गिरी प्रेरणाको सहलेखनमा विसं २०७५ सालमा “विसर्ग” उपन्यास प्रकाशित भयो ।
उनका “सीताहरू” र “घरहरू” कथ्योपन्यास पनि प्रकाशित छन् । उनले आफ्ना कथाहरुको रचनागर्भ पनि लेखे र रचनागर्भ सहित ती कथाहरुको सङ्कलन प्रकाशित भयो । यो यस किसिमको नेपाली साहित्यमा नौलो पुस्तक हो । उनको अमेरिका प्रवासलाई लिएर त्यही पृष्ठभूमिमा लेखिएका कथाहरुको सङग्रह “समुद्रमा अस्ताउने सूर्य” आफ्नै किसिमको विशेषतायुक्त कथा सङ्ग्रह हो । सरकारी जागिरबाट अवकाशप्राप्त उनको आत्मकथाको पनि प्रकाशन भएको छ । उनका वाल साहित्यमा पनि प्रसस्त कृतिहरु प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *