अमेरिका टेक्दाको पहिलो क्षण

लघुकथा सूत्रकथा

श्रीओम श्रेष्ठ ‘रोदन’

हामी करिब चार सयजना यात्रु अमेरिकी विमान नर्थवेस्टमा चढिसकेका थियौँ । अहिले एमस्टर्डमको विमानस्थलबाट अमेरिकाको बोस्टनको लागि उड्न लागेका हौं । यति घेरै मान्छे विमान चढ्ने बेलामा भीड हुन्छ भनेर होला, सबैभन्दा पहिले एक्ज्युकेटिब क्लासका टिकट लिने यात्रुहरुलाई भित्र पस्न भनियो । त्यसपछि विजनेस क्लास र इन्टरनेटबाट टिकट लिने इ–टिकटका यात्रुहरु विमानभित्र गइसकेपछि मात्र हामीजस्ता इकोनोमी टिकट लिनेहरुको पालो आएको थियो । मलाई यो तरिका बैज्ञानिक लाग्यो । हो पनि महङ्गो चीजको महत्व जहाँ पनि हुन्छ नै, पैसा हुनेहरु भीडमा छुट्टिइहाल्छन् । हुत त एकछिन फरक देखिए पनि उड्ने एउटै प्लेन नै हो क्यारे ।
स्थानीय समयअनुसार दिनको ३ बजेर ५ मिनेट गएको थियो । एक जना बूढो कर्मचारी होला हस्याङफस्याङ गर्दै भित्र पस्यो । कस्तो बूढो होला, आफ्नो प्लेनको टिकटको समय पनि वास्ता नगरेर कतातिर अलमलिइरहेको होला । एकछिन ढिलो भएर प्लेनको ढोका बन्द भैसकेको भए छुट्ने रहेछ । त्यही सोच्दै थिएँ ।
उसले कराउँदै भन्नथाल्यो–बोर्डिङ पास लिने ठाउँमा कसैको यो कालो कोट र ड्युटी फ्री सपमा किनेको सामान छुटेको रहेछ, कसको हो ? कृपया लिनु होला । यति भन्नासाथ अगाडितिरै बसेको एकजना यात्रुले हात उठायो र धन्यवाद दिएर सामान लियो । साँच्चि नै कर्मचारीहरुको कर्तव्य र यात्रुप्रतिको सद्भाव देखेर मलाई खुशी लाग्यो ।
विमान उडेको केही समयमा नै समुद्र देखिन थाल्यो । सधैं जस्तो चलायमान देखिने गरेको समुद्र अहिले शान्त देखिएको थियो । पानी कालो र पानीमाथि दूधजस्तो सेतो तर देखियो । सेतो बादलहरुका छायाँ परेका ठाउँमा बादलकै आकारको कालो टाटो परेको पनि देखियो । स–साना देखिएका पानीजहाजहरु एकनासको गतिमा आ–आफ्नो गन्तव्यतिर गइरहेका देखिए । भर्खरै जानकारी गराएअनुसार विमान एटलान्टिक समुद्रबाट दक्षिण बेलायतमाथि भएर ३६ हजार फिटको उचाइमा उक्लिइरहेको थियो ।
केही समयमा न्यूयोर्क र क्यानाडाको टोरोन्टो नजिकको ल्याब्रेडर समुद्र सेताम्मे देखियो । नून जमेर सेतो भएर हो कि समुद्र शान्त देखिन्थ्यो । अचम्म लाग्छ, यस्तो शान्त समुद्रले कसरी सुनामीको रुप लिनसक्यो होला ? हजारौं मान्छेसँगै त्यत्रो विनाश गराउने समुद्र साँच्चिकै आतङ्ककारीजस्तै बनेको थियो सुनामी बेला । तर अहिले विमानको सानो झ्यालबाट देखिएको विशाल समुद्र भने तपस्या गरिरहेको त्यागी ऋषिजस्तै लाग्यो मलाई ।
अहिले समय देखेर पनि अचम्म लागिरहेछ । हिजो दिल्लीबाट राती एक बजे उडेको प्लेनले नौ घण्टा उडाएर एमस्टरडममा बिहान छ बजे ओरालेको थियो । विमानस्थलमा नौ घण्टाको समय मात्र प्लेन कुरेर बिताएको थिएँ । सवा तीन बजे उडेको प्लेन सवा छ घण्टादेखि उडिरहेको छ तर उज्यालो भने जस्ताको तस्तै थियो । घडीको समयले अहिले रात परिसक्नु पर्ने हो, त्यसैले घडीकै समय हेरेर दिन र रात छुट्याउन गाह्रो भइरहेको थियो । घडीको समय र प्रकृतिको अनमेल त्यो पनि आकाशमा, कसरी थाहा पाउनु आकाशले लुकाएका समयका घण्टाहरु ?
कतिखेर हो झपक्क निदाएछुँ । एयरहोस्टेसले चिसो आइसक्रिम ल्याइदिएपछि ब्यूझिएँ । ब्यूँझिएर पनि धेरैबेरसम्म आँखा खोल्न सकिनँ । हुन पनि राम्रोसँग निदाउन नपाएको तीन रात भइसकेको थियो । धेरै समयको आकाशेयात्रा पनि पट्यारलाग्दो हुँदोरहेछ । म त्यस्तै अनुभव गरिरहेको थिएँ अहिले ।
प्लेन विशाल छ ठूलो सभाभवनजस्तै । सबैभन्दा अगाडिको ठाउँमा सबैले देख्ने गरी ठूला तीनवटा भिडियो छन् । प्रत्येकको सिटपछाडि भने अर्को यात्रुको लागि सानो भिडियो जोडिएको छ । भिडियोको पर्दामा प्लेन कुन क्षेत्रबाट उडिरहेको छ भन्ने चित्र देखाइरहेको छ । कति माइलको गतिमा र कतिको उचाइमा प्लेन उडिरहेको जानकारी गराइरहन्छ । त्यसमा आफूले चाहेजस्तो विभिन्न प्रकारका छोटा फिल्महरु हेर्न, विभिन्न प्रकारका सङ्गीतहरु सुन्न र भिडियो गेमहरु खेल्ने सुविधा पनि रहेको छ । खानेकुराको कुनै कमी छैन । समयसमयमा विभिन्न प्रकारका परिकारहरु दिइरहन्छन् । प्लेनभित्र सबैले सबैलाई देख्न सकिँदैन । वरपर देखिएकाहरु मध्ये कोही भिडियो गेम खेलिरहेका छन् , कोही फिल्म हेरिरहेका छन् । कोही पुस्तक पढिरहेका छन् र कोही भने मस्त निदाइरहेका देखिन्छन् ।
फेरि मिलाइनसकेको घडी हेर्छु, साढे दस बजिरहेको छ । झ्यालबाट बाहिर हेर्छु, चकमन्न उज्यालै छ । अहिले भने समुद्रका ठाउँठाउँमा टापुहरु देखिन्छन् । टापुमा घरहरु, बाटाहरु पनि । ठूला जहाजहरु पनि देखिन्छन् । समुद्रका किनारामा पानी चलेको देखिन्छ । आकाशजस्तै नीलो अथाह र अद्भुत समुद्र पनि नीलो देखिएबाट बोस्टन आइपुग्न लागेको आभास हुन्छ । आकाशबाट जमिन नजिकिँदै गए अनुसार ठूलो सडकहरु र त्यसमा कुदाकुद गरिरहेका मोटरहरु पनि प्रष्ट देखिन थालेका छन् । नभन्दै विमान केही समयमा नै अवतरण हुन्छ । पानी पानीको बीचमा बनेको लगुन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो आठघण्टापछि । विमानबाट ओर्लंदा त्यहाँको सवा पाँच बजेको घडीले देखाइरहेको थियो ।
यतिखेर म ढुक्क भएको थिएँ, अमेरिका पुगियो भन्ने कुरामा । त्यसै पनि मैले अमेरिकाको भिसा पाएको साढे तीन वर्ष भइसकेको थियो । बाँकी डेड वर्षभित्र पनि जानसकिएन भने जति भिसाको उपहास हुन्थ्यो त्यति नै थाहा पाउने मित्रहरुको अगाडि हास्यको पात्र बन्ने थिएँ ।
विश्वमा अमेरिका मात्र त्यस्तो देश हो, जहाँ जानलाई भिसा पाइयो भने निकै भाग्यमानी ठानिन्छ । अमेरिका पस्न मात्र पायो भने जीवन सार्थक हुन्छ भन्नेहरुको भीड संसारभरि नै बढेका छन् । कानुनी रुपमा प्रवेश गर्न नसक्ने हजारौं मानिस ज्यान हत्केलामा राखेर गैरकानुनी रुपमा पस्छन् र पस्न प्रयास गर्छन् । हामी कहाँ पनि अमेरिकाको भिसा लगाइदिने वा भित्र्याइदिने व्यवस्था गर्नेलाई दसौं लाख दिने गरेको तथ्य खुल्लारुपमा तर गोप्य तवरले गर्ने गरेका छन् ।
ओहो ! यस्तो सपनाको देशमा पाइला टेकेको दिनलाई म कसरी बिर्सन सक्थें । त्यसैले हत्तनपत्त डायरीमा टिपें २९ अप्रिल २००६ भनेर ।
विमानबाट उत्रँदा जति म खुशीले रोमान्चित भएको थिएँ त्यतिनै भयले त्रसित भएँ । त्यसो त यो मेरो पहिलो विदेश यात्रा थिएन । पहिला पनि एक्लै विदेश यात्रा नगरेको होइन । तर पनि निकै आत्तिएको थिएँ ।
अहिले विदेशी विमानस्थलमा नेपालीहरुले गरेका केही आपराधिक गतिविधिले गर्दा नेपालीप्रति हेर्ने दृष्टिकोणमा फरक परेको थियो । फेरि आतङ्ककारीहरुको सन्जाल पनि निकै बढिसकेको छ । दिल्ली विमानस्थलमा गरेको किचलो र एमस्टडममा सोधेका प्रश्नै प्रश्नहरु मसँग ताजै थिए । बाटो परेका मुलुकहरुले त त्यति चासो राखेर अप्ठेरो पार्न खोज्दारहेछन् भने झन् अमेरिकैमा त कत्ति गाह्रो पार्ने हो भन्ने त्रास बढिरहेको थियो । हुन त डराएर समस्या समाधान हुने होइन । आइ त सकेको छु, अब जे होला होला । फेरि मैले के पो बिराएको छुँ र डराउने भन्ने ठानेर मन बलियो बनाएँ । त्यतिन्जेल म इमिग्रेसनको काउन्टर अगाडि पुगिसकेको थिएँ । काउन्टरको कर्मचारीले केही सहज प्रश्नहरु गरे, मैले सहजै उत्तर दिएँ । त्यसपछि कति बस्न चाहनुहुन्छ भनेर सोध्यो । मैले अन्य राज्यहरु पनि घुम्ने योजना भएकोले केही महिना बस्नसक्छु भनेँ । त्यसपछि कर्मचारीले केही नभनी छ महिनाको भिसा लगाइदियो ।
अब भने साँचैको हलुको भएँ म । त्यतिन्जेल म सुटकेस लिने ठाउँमा पुगिसकेको थिएँ । सुटकेश गुडाउँदै अगाडि भन्सारतिर जाँदै थिएँ । एक जना सुरक्षाकर्मी नजिकै आयो र सुटकेश खोलेर देखाउन भन्यो । नजिकैको चेकिङ काउन्टरमाथि राखेर सुटकेस खोलें । सुटकेसमा केही थान पुस्तकहरु थिए । पुस्तकहरु देखेर उसले प्रश्न गर्यो–‘ यति धेरै किताबहरु किन ल्याएको ?’
‘यी सबै मैले लेखेका किताबहरु हुन्, साथीहरुलाई उपहार दिन ल्याएको’ मैले जवाफ दिएँ ।
उसले ओल्टाइपल्टाइ हेर्यो । अक्षर त के पो बुझ्थ्यो र, मेरो फोटो देखेपछि मलाई हेर्यो र भन्यो– ‘तपाईँ लेखक हो ?’
त्यसपछि उसले मप्रति साह्रै शिष्ट व्यवहार गर्यो । खास केही नहेरिकनै भन्यो–‘बन्द गर्नुस्, भयो ।’
मैले धन्यवाद भन्दै सुटकेस बन्द गरें । लेखक भन्ने थाहा पाएर हो वा मनोवैज्ञानिक जाँच गरिसकेर हो सजिलै पठाइ दिएकोमा दङ्ग भएँ । भए पनि नभए पनि लेखक भएकोमा भने गौरव लाग्यो ।
सुटकेश बन्द गरेर भुइँमा राख्न खोज्दैथिएँ । झण्डै तीस केजी सामान भएको सुटकेसको पाङ्ग्राले पाइन्टको जिपरतिर च्यापिएछ । थाहा नपाएकोले बल गरेर उठाउँदा पाइन्टको अगाडिदेखि पछाडिसम्म धेरै नै उध्रियो । फसादै पर्ने गरी उध्रियो । सुटकेस खोलेर अर्को पाइन्ट लगाउन पनि मन मानेन । किनभने भन्सारबाट जतिसक्यो छिटो निस्कन हतारिएको थिएँ । त्यस्तै बाहिर लिन आउनु भएका साथीहरुलाई कत्तिखेर भेटौं भन्ने हतारो पनि भइरहेको थियो । त्यसैले हातमा बोकेको झोलाले छोप्दै त्यत्तिकै बाहिर निस्किएँ ।
विमानस्थलबाट बाहिर निस्कँदा मेरा थाकेका आँखाहरु निकै चनाखा भएका थिए । एकै पटकमा चारैतिर आँखा घुमाएँ, मान्छेमान्छेको भीडमा आफ्नो मान्छे खोज्न । ढोकै अगाडि तीनजोर हातहरु हल्लिरहेका देखिहालेँ । दुवै हातमा सुटकेस भएकोले टाउकैले अभिवादन गरेँ । हरि थापाजी, विष्णुमणिजी र मधुकरजीलाई देखेपछि मेरा सबै थकाइ मेटियो । हलुका भएँ म र खुशीले उफ्रिंदै बाहिर पुगेर दह्रोसँग हात मिलाइसकेको थिएँ मलाई लिन आउने मेरा प्रिय मित्रहरुसँग ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *