कर्मशील डा. बिष्णु पौडेल ‘परिमल’

साहित्यिक कीर्तिमान

बसन्त श्रेष्ठ, भर्जिनिया, अमेरिका

ईश्वी सम्बत २०१७ को मार्च महिनाको कुनै दिन ।

समय शायद दिनको तीन बजिसकेको हुँदो हो- डा. विष्णु पौडेलको फोन आयो । हामी बाल्टिमोरबाट भर्खर निस्केका मात्र थियौं । उहाँ फोनमा भन्दै हुनुहुन्थ्यो, “बसन्त बाबु खै कति बजे आई पुग्नु हुने हो ? झन् चाँडो आऊनु भनेको ।” उहाँको गुनासो थियो ढिलो भएकोमा । उसै पनि लन्चको लागि हामीले समय मिलाउन सकेका थिएनौं ।
एक घन्टामा आई पुग्छौं भनेर फोन मैले राखिदिएँ ।
बास्तवमा हामी भन्नाले बरिष्ठ कवि तुलसी दिवस र सन्ध्या जोशीका साथमा म थिएँ । त्यस दिन अवैतनिक महाबाणिज्यदूत प्रेमराजा महतको “नेपाल हाउस” रेष्टुरेन्टमा हाम्रो लन्चको कार्यक्रम थियो । त्यहाँको लन्च सकेर डा. पौडेलकोमा भेट गर्न जाने कार्यक्रम अनुसार नै हामी निस्कदै थियौं ।
पानी झमझम परिरहेको थियो । बर्षातले गर्दा गाडीको गति निकै सुस्त थियो । हुन त समयको अनुकुलता ठ्याम्मै मिठो थिएन । करिव करिव चार बजे डा. बिष्णु पौडेल ‘परिमल’ को घर अगाडी मैले गाडी रोकें । सेतो कुर्ता सुरुवालमा ठुलो ललाट, लामो लामो सेतो केश, अलिकति अग्लो कद भएको डा. परिमल ठ्याम्मै एक सन्त महात्मा जस्ता देखिनुहुन्थ्यो । घर बाहिर नै आएर हाम्रो स्वागत गर्नुभयो । तुलसी दिवससंग एक कसिलो मायालु अंकमाल गर्नु भयो । चालिस बर्ष भन्दा अलिक बेसी भएछ दुबैको भेट नभएको, उहाँहरु गणना गर्दै हुनुहुन्थ्यो ।
सन् १९६५ सालमा डा. बिष्णु प्रसाद पौडेल ‘परिमल’ धनकुटा कलेजमा प्राचार्य भएर धनकुटा बस्नु भएको रहेछ । तुलसी दिवस धनकुटाका रैथाने । त्यही समय देखिका दुवैको मित्रता । परिमल गीत, संगीत र साहित्यका पारखी । त्यसैले उहाँले आफ्नो नामको पछाडि साहित्यिक उपनाम जोड्नुभयो ‘परिमल’ । “परिमल” जसको शाब्दिक अर्थ सुवास, सुगन्ध वा आईरहने मिठो बास्ना हुन्छ । अनि दिवस लोक गीत संकलक र कविताका सर्जक । दुबैको मित्रता यिनै गुणहरुले आत्मियतापूर्बक झ्याँगिएको रहेछ ।
डा. पौडेलले आफ्नो घरको बेसमेन्टमे लग्नु भयो जहाँ उहाँले हिन्दु देबी देवताको मन्दिर प्रतिस्थापना गर्नु भएको रहेछ । उहाँको श्रीमती डा. प्रमिला पौडेलको प्रबचन र भजन किर्तन गर्ने थलो रहेछ । हुन् त डा. प्रमिला पौडेल फेयर फ्याक्स स्टेसन स्थित दुर्गा मन्दिरमा सप्ताहन्तमा धार्मिक प्रबचन प्रदान गर्ने पनि गर्नुहुन्थ्यो । उहाँले आफ्नो पुस्तकालय देखाउनु भयो जहाँ उहाँका प्रकाशित पुस्तकहरु र भारतीय विशिष्ट व्यक्तिहरुसंगको तस्बिरहरु थिए । उहाँले भारतमा हुँदा आफ्नो बिभिन्न उपलब्धि एक एक बर्णन गर्दै जानुभयो । लाग्थ्यो उहाँ आफ्ना मित्रलाई छुटेको बिगतका डोबहरु देखाउँदै हुनुहुन्थ्यो । दिवस दुई चार प्रश्न बीच बिचमा सोध्नु हुन्थ्यो भने सन्ध्या र म ज्ञानी श्रोता झैं सुन्न मै मग्न थियौं ।
त्यस साँझ कवि तुलसी दिवस र डा पौडेलले साहित्य, धर्म अनि राजनीतिका बिषयमा समेत कुरा गर्नु भएको थियो । दुबैले आआफ्नो सम्झे जति भारत, धनकुटा र काठमाण्डौसम्मको पुराना सम्झना त्यस छोटो भेटमा समेट्नु भएको थियो । त्यहि दिन डा. पौडेलले मलाई आफ्नो हस्ताक्षर सहित उहाँको “मिसन अफ पिस एंड ट्रांकुलिटी टु साउथ एसिया” पुस्तक दिनु भएको थियो ।
वास्तवमा त्यहि भेट नै डा. पौडेल संगको मेरो अन्तिम भेट थियो ।
डा. बिष्णु प्रसाद पौडेल ‘परिमल’ संग मेरो पहिलो भेट सन् १९९४ सालको एएनए अधिबेशनको कविता गोष्ठी कार्यक्रम मा भएको थियो । एएनए को बार्हौ बार्षिक अधिबेशन भर्जिनिया राज्यको आर्लिंगटन शहर स्थित मेरी माउन्ट बिश्व बिद्यालयमा आयोजना भएको थियो । म त्यस समय न्यूयोर्कबासी भएको कारणले न्युयोर्क देखि नै सो अधिबेशनमा भाग लिन आएको थिएँ । बिभिन्न कार्यक्रमहरु रहेको सो अधिबेशनमा कविता गोष्ठीको पनि कार्यक्रम रहेको थियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज आयोजक रहेको सो गोष्ठीमा मैले “मेरो देश” भन्ने कविता पाठ गरेको थिएँ । डा. पौडेल सो कविता गोष्ठीको कार्यक्रम संचालक हुनुहुन्थ्यो । यो मैले अमेरिकामा भाग लिएको पहिलो नेपाली कार्यक्रम थियो । संस्था अनेसाससँगको चिनारी तथा डा. पौडेल र होमनाथ सुवेदीजी संगको प्रथम भेट पनि त्यही थियो । डा. पौडेलको कार्यक्रम संचालन निकै भब्य, शालीन र रमाईलो थियो । मैले मात्र होईन धेरैले सो अधिबेशनभरि उहाँको मिठो गुनगान गाएका थिए ।
यसरी मेरो अनेसाससंगको सम्बन्ध र डा.बिष्णु पौडेल “परिमल” संगको सम्बन्ध त्यहींबाट शुरु भएको थियो । भनौं साहित्यको माध्यमबाट । त्यसपछि प्रत्येक बर्ष हुने एएनएको बार्षिक अधिबेशनमा प्राय: उहाँसंग भेट हुने गर्दथ्यो । साहित्यको माध्यमबाट नजिकिए तापनि हामी बीच बार्ताको कुनै एक बिषयमा मात्र सीमित रहेन त्यस पछिको भेटमा ।
यसरी डा. बिष्णु पौडेलसंग मेरो प्राय:जसो जुलाई महिनाको चार तारेखको सप्ताहान्तमा आयोजना हुने एएनए को बार्षिक सम्मेलनमा नियमित भेट हुने गर्दथ्यो । मैले सम्झे अनुसार यो क्रम सन् २००९ सम्म नै निरन्तर रह्यो होला । त्यस पछिका दिनहरुमा डा. पौडेलसंगको भेट फेयरफ्याक्स स्टेसन स्थित दुर्गा मन्दिरमा हुन थाल्यो । भेटघाटमा प्राय: हाम्रो साहित्यिक उपलब्धिको र सामाजिक सक्रियताको बिषयमा बढी चासो राखेर कुरा हुने गर्दथ्यो । नेपाली सामाजिक संघ संस्थासंग आत्मिय सम्बन्ध राखेर धेरै सहयोगी भूमिका खेल्नु भएका उहाँले भारतीय र अमेरिकी समुदायमा पनि धेरै सामाजिक कार्यमा अग्रसरता देखाउनु भएको थियो ।
सन् १९९१ मा स्थापना भएको अन्तराष्ट्रिय नेपाली साहित्य समाजको उहाँ संस्थापक सदस्य हुनुहुन्थ्यो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज वाशिंगटन डिसी नेपाली भाषा र साहित्यको उत्थानको लागि स्थापना भएको पहिलो नेपाली संस्था हो । त्यस समय एएनए, अनेसास वा अमेरिका नेपाल सोसाइटीका कुनै पनि कार्यक्रममा प्राय: भेटिरहने चिर परिचित अनुहारमा डा.परिमल एक व्यक्तित्व हुनुहुन्थ्यो । भर्जिनिया, फेयरफ्याक्स स्टेसन अवस्थित दुर्गा मन्दिरमा पनि प्राय: भेट भैरहने डा. परिमल पछि त्यहि मन्दिरको बोर्ड अफ ट्रष्टीको अध्यक्षमा रहेर त्यस मन्दिरको ब्यबस्थापना गर्न समेत सक्रिय हुनुहुन्थ्यो । उहाँ शिक्षण पेशामा आबध्द हुनुहुन्थ्यो । भर्जिनियास्थित अमेरिकन कलेज अफ कमर्श एण्ड टेक्नोलोजीमा प्राचार्य भएर लामो समय सम्म सक्रिय जीवन बिताउनु भएको थियो । डा. परिमलले सन् २००६ मा नेसनल एडभाइजरी काउन्सिल, साउथ एसियन अफेयर्स मा संस्थापक अध्यक्ष भएर कार्यभार समेत सम्हाल्नु भएको थियो ।
यस अर्थमा भन्ने हो भने डा. पौडेल नेपाल र अमेरिकामा रहेर शिक्षण पेशामा मात्र सिमित नरही थुप्रै सामाजिक संस्था संग आबध्द रहनु भयो । उहाँ बास्तबमा कर्मशील व्यक्तित्वका धनी हुनुहुन्थ्यो ।
अमेरिकामा करिब पचास बर्ष देखि बस्दै आएका साहित्यकार, लेखक अनि शिक्षाविद डा. बिष्णु प्रसाद पौडेल ‘परिमल” को ८९ बर्षको उमेरमा कोरोना महामारीका वीच अप्रिल १४, २०२० का दिन निधन भयो । त्यति ठूलो व्यक्तत्वमा धनी डा.पौडेलको मृत्युमा नेपाली समुदायले उहाँलाई श्रध्दा अर्पण गर्ने अवस्था कोरोना महामारीका कारण हुन सकेन । त्यस्ता श्रध्देय व्यक्तित्वका धनी डा . पौडेलकी श्रीमती डा. प्रमिला पौडेलको पनि जुन ९ तारेख २०२१ मा भर्जिनिया राज्यको भियना शहरमा देहावसान भयो । उहाँ पनि आध्यात्मिक क्षेत्रमा प्रवल सकृय हुनुहुन्थ्यो । उहाँहरुका दुई छोरा र एक छोरी छन् ।
०००
लेखक परिचय: दुई दशकभन्दा वढी समयदेखि अमेरिकामा वसोवास गर्दै आएका वसन्त श्रेष्ठ मूलत: कवि हुन् । उनी सामाजिक संघसंस्थामा पनि सकृय रहँदै आएका छन् । उनका “वसन्त श्रेष्ठका कविता”(गोविन्द गिरी प्रेरणाद्वारा सम्पादित)विसं २०६४, “भावनाका लहरहरु”(नेपाली अङ्ग्रेजी दुई भाषामा) विसं २०६६, “उज्यालो खोज्ने आवाजहरु” (विसं २०६७) तथा “गोलार्धमा उभिएको मान्छे” (विसं २०७७) कविता कृतिहरु प्रकाशित छन् । उनले “अस्वीकृत विचार पुरस्कार” पाएका थिए । हाल उनी नर्दर्न भर्जिनियामा सपरिवार वसोवास गर्छन् ।

Leave a Reply